पिखुवा खोला लिफ्टिङ आयोजनाको पानी वितरण हुँदै

भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विगत लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयबासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षणसमेत शुरु भएको छ । पिखुवा खोलाबाट पम्पिङ, ट्याङकी निमार्ण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब रु. १२ करोड ४० लाखमा आयोजना निर्माण शुरु गरिएको हो । खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको पिखुवाखोला मानेभञ्ज्याङ पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले जानकारी दिनुभयो । लिफ्टिङको सफल परीक्षण पश्चात लामाआल डाँडा वितरण केन्द्रबाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी वितरण हुने उपभोक्ता समितिका सचिव जगत चौहानले बताउनुभयो । लामो समयबाट खानेपानीको संकट व्यहोर्न बाध्य स्थानीयबासी लिफ्टिङ सिस्टमबाट तानेको पानी आउने भएपछि खुशी भएका छन् । पिउने पानीको अभावका कारण बसाइसराइ हुँदा सो भेगका बस्तीहरु रित्तिदै गएको छ । अब भने पानीको कारण बस्ती छाड्नु पर्ने अवस्था अन्त्य हुनेमा आशावादी रहेको स्थानीयबासी राम तामाङले बताउनुभयो । तामाङले भन्नुभयो,‘‘पानी अभावमा यस क्षेत्रका तल्लो भेगको बस्ती नै रित्तो भएको छ । अव भने पानीको कारण अन्यत्र बसाइसराई गर्नु पर्ने अवस्था आउदैन भन्नेमा आशावादी छौँ ।’’ एक गाग्रो खानेपानीका लागि स्थानीयबासी दैनिक एक घण्टाको हिँडेर पानी लिन जानुपर्ने बाध्यता हट्ने भएपछि खुशी लागेको तामाङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *