कोरोनासँग लड्दा लड्दै ज्यान गुमाएकाहरुका सन्तानका लागि सरकारले दियो विशेष प्याकेज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सँग लड्दा लड्दै ज्यान गुमाएकाहरुका सन्तानका लागि सरकारले विशेष खुःशी ल्याएर आएको छ ।सरकारले कोरोनाबाट आमाबाबु गुमाएका सन्तानलाई छात्रवृत्ति दिने भएको हो ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि सरकारले छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभयो ।

गरिबी निवारण कोष खारेज
नेपालमा रहेको चरम गरीबीलाई कम गर्न तथा लोकतान्त्रिक, न्यायिक, समतामूलक एवं दिगो समाज निर्माणका लागि काम गर्दै आएको गरीबी निवारण कोष खारेज भएको छ ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो । गरीब तथा पिछडिएका समूहहरूलाई विकास प्रयासहरूमा मूल वाहकको रूपमा संलग्न गराई बहिष्करणमा परेका समुदायहरूलाई विकासको मुलप्रवाहमा ल्याउन एक विशेष तथा लक्षित कार्यक्रमको रूपमा सन् २००३ मा गरीबी निवारण कोषको स्थापना भएको थियो ।

गरीबी निवारण कोषले परम्परागत रूपमा लिङ्ग, जात, जातीयता तथा भौगोलिक अवस्थाका कारणले बहिष्करणमा परेका समुहहरूप्रति विशेष ध्यान दिंदै ग्रामीण गरीबहरूको बसोबासको अवस्था तथा जीवनचर्यामा सुधार तथा सशक्तीकरण गर्ने प्रयास गर्दै आएको थियो ।

साथै, सरकारले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

प्रारम्भिकरूपमा सन् २००३ मा अध्यादेशमार्फत स्थापना गरिएको गरीबी निवारण कोष सन् २००६ देखि ऐनअनुसार सञ्चालित थियो । गरीबी निवारण कोष अलग्गै कानूनद्धारा सञ्चालित एक स्वशासित, स्वतन्त्र तथा व्यावसायिक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *