एमाले स्थायी कमिटीको बैठक बस्दै, खनाल-नेपाल पक्षका नेतामाथि एस्तो कारबाही

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए ।

आइतबार बस्ने तय भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको उनको भनाइ छ । तामाङका अनुसार स्पष्टीकरण सोधिएका पार्टीका १२ नेता र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले आवश्यक निर्णय लिने छ ।

१० जेठको स्थायी समिति बैठकको निर्णय अनुसार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । सोही दिनको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

थप १२ जनाले पनि औपचारिक रुपमा स्पष्टिकरण दिएका छैनन् । उनीहरुमाथि थप कारबाही गर्ने एमालेको तयारी छ । यस्तै एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीमाथि पनि कारबाहीको तयारी छ । प्रदेश कमिटीले कारबाहीका लागि केन्द्रलाई सिफारिस गरिसकेको छ ।

१० जेठमा एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, खनाल–नेपालनिकट सांसद बाहुल्य रहेको संसदीय दलको १२ जेठको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *