लासमा समेत बार्गेनिङ, ९० रूपैयाँमा किनेको औषधी ८ हजारमा बिक्री

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले शनिबार दुईवटा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लियो। ना २ च ३२५६ र ना २ च ८१९९ नम्बरको एम्बुलेन्स चालकद्वय वीरवल मुखिया र कमरुदिन रायभर वीरगञ्जस्थित नेशनल मेडिकलको प्रांगणबाट पक्राउ परे। उनीहरुले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्ने क्रममा बार्गेनिङ गरेका थिए।

शव बोक्न प्रचलित मूल्यभन्दा तेब्बर मूल्य लिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता, डीएसपी ओमप्रकाश खनालले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यी एम्बुलेन्स चालकद्वयले कोरोनाका बिरामी र मृतक बोक्ने क्रममा तेब्बर भन्दा बढी रकम असुल्दै बिरामी र मृतक बोक्ने गरेको प्रहरीको भनाइ छ।

यी दुई जनाले तेब्बरसम्म लिएपनि यही महामारीलाई मौका छोप्दै ५ सय गुणसम्म असुली गरेको पाइएको छ। वैशाख २३ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको आरोपमा तीन जनालाई पक्राउ गर्‍यो। काठमाडौंबाट बुटवल र पोखरा जाने यात्रुसँग ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको पाइएपछि पोखरा चल्ने माइक्रोमा काम गर्ने बन्दराज पराजुली, नवीन पौडेल र बुटवल काउन्टरमा काम गर्ने रन्जित सिलवाल पक्राउ परे।

काठमाडौं–पोखराको नियमित भाडा ५ सय भए पनि उनीहरुले ३५ सयसम्म लिए। काठमाडौं–बुटवलको भाडा १२ सय भए पनि उनीहरुले ५ सय प्रतिशत बढी असुल्दै ६ हजार लिए। महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जारी निषेधाज्ञामा बढी भाडा असुल्ने ३३ जनालाई ट्राफिक महाशाखाले पक्राउ गरिसकेको छ।

कोरोना महामारीका कारण नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भइरहेका बेला केही व्यक्तिलाई यो अवसर बनेर आएको छ। यही मौकामा उनीहरु कृत्रिम कालोबजारी सिर्जना गर्नेदेखि नक्कली सामान बजार पठाएर ठगी गर्दै आएका छन्। कतिसम्म भने कोरोनाको उपचारमा लाग्ने औषधी नक्कली बनाएर बजार पठाउनेसम्मका आपराधिक कार्य भएका छन्।

मोरङ प्रहरीले कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर भनेर स्टासेफ औषधी बेच्ने दुई जनालाई पक्राउ गरेकोे थियो। विराटनगर-४ मा रहेको साथी मेडिकल पसलका सञ्चालक सोनु आलम र श्रवणकुमार यादव पक्राउ परेका थिए। ९० रुपैयाँमा खरिद गरेको स्टासेफ औषधीमा रेम्डेसिभिरको स्टिकर टाँसेर ८ हजार रुपैयाँसम्म लिएर उनीहरुले बिक्री गरेको मोरङका एसपी सन्तोष खड्का बताउँछन्।

भारतको पटनाबाट रेम्डेसिभिरको स्टिकर ल्याएर उनीहरुले स्टासेफ औषधीमा टाँस गर्दै रेम्डेसिभिर भन्दै बेच्दै आएका थिए। कोरोनाका गम्भीर विरामीको ज्यान जोगाउन प्रयोग गरिने औषधीमा समेत उनीहरुले गम्भीर खेलवाड गरी नक्कली औषधी बेच्ने गरेको पाइएपछि कालोबजारीसँगै केही सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको कसूरमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

महामारीलाई मौका ठान्नेहरुका लागि कालोबजारी गर्ने क्षेत्र यतिमा मात्रै सीमित छैन। कोरोना संक्रमण भइहालेमा शरीरको अक्सिजन र पल्सको मात्रा नाप्ने अक्सिमिटरमा समेत कालोबजारी रोकिएको छैन। नक्कली अक्सिटिमर बजार पठाउनेदेखि चर्को रकम असुलेर ठगी गरेका घटनाहरु पनि छन्।

अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले वैशाख २८ गते ७ जनालाई पक्राउ गर्‍यो। ७ सय पर्ने अक्सिमिटरलाई उनीहरुले २२ सयसम्म लिएर बेचेको आरोप छ। महाशाखाले नै ४ हजार पर्ने रेम्डेसिभिरलाई २० हजार रुपैयाँसम्म बिक्री गरेको आरोपमामा एक जनालाई बसुन्धाराबाट पक्राउ गरेको थियो। यो महामारी अधिकांश मान्छेका लागि कसरी बाँच्ने भन्ने छ। तर, केही मानिसका लागि भने यो महामारी मौका बनेर आएको छ। आखिर किन यस्तो हुन्छ ? पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यो मान्छेको मानसिकता हो। एक किसिमको रोग हो।’

उनका अनुसार हरेक कुराको माग बढी भएपछि कालोबजारी शुरु हुन थाल्छ। कालोबजारी भनेकै यस्तै महामारी, आपतविपत, चाडबाडलगायतमा बढी हुने अपराध हो। ‘अफ्ठ्यारो परिस्थितमा फाइदा खोज्ने मानसिकता हो’, ठकुरीले उदाहरण दिए, ‘गत वर्षको लकडाउनमा थर्मल गन कालोबजारीमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाल दुई-चार लाख बढी रकम असुलेर बेच्नुपर्ने मान्छे होइनन्। तर, उनी कालोबजारी आरोपमा पक्राउ परे। त्यसकारण यो भनेको मान्छेको मानसिकतामा भर पर्ने कुरा हो।’

त्यसबेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाल २५ दिनको हिरासत बसाइँपछि साढे २५ लाख धरौटी तिरेर रिहा भएका थिए। जारी महामारीमा मौका छोपी, कालोबजारी गर्ने जो कोहीलाई पनि प्रहरीले नछाड्ने नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवर बताउँछन्। ‘कोही आपराधिक मानसिकता भएका व्यक्तिलाई यस्तो महामारी अवसर बनेर आउन सक्छ। तर, त्यस्ता अपराधविरुद्ध नेपाल प्रहरी निर्मम भएर प्रस्तुत हुन्छ। र, भइरहेको छ’, एसएसपी कुवँरले भने।

महामारीमा मौका छोपी कृत्रिम कालोबजारी सिर्जना गरी ठगी गर्नेहरुविरुद्ध कारबाही गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन हुने गरेका छन्। ट्राफिक महाशाखादेखि काठमाडौं, ललितपुर, भक्तपुर प्रहरीले समेत सादा पोशाकमा प्रहरी खटाएर कालोबजारी गर्नेविरुद्ध कारबाही जारी राखेको बताएका छन्।

काठमाडौं प्रहरीले केही दिनअघि मात्रै ठूलो मात्रामा गुण्स्तरहीन स्यानिटाइजर बरामद गरेको थियो। उता ललितपुर प्रहरीले पनि लुकाएर राखेको अक्सिजन सिलिण्डर संकलन गरेर विभिन्न अस्पताललाई बुझाएको छ। यसैगरी, देशैभरका प्रहरीलाई महामारीमा कालोबजारी गर्ने, ठगी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाही तीव्र पार्न प्रहरी प्रधान कार्यालयले समेत निर्देशन दिइसकेको प्रवक्ता कुँवरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *