मन्त्री पाउने भएपछि अन्ततः योगेश भट्टराई र गोकर्ण विष्टले छोडे माधव नेपालको साथ

काठमाडौं, । नेकपा (एमाले) को एकताको लागि प्रयास गरिरहेका माधव नेपाल पक्षका युवा नेताहरु योगेशकुमार भट्टराई र गोकर्ण विष्टले अन्ततः माधव नेपालको साथ छोडेका छन्। पछिल्लो साता उनीहरु एकताको लागि भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुसँग छलफलमा थिए ।

ओली २०७५ जेठ २ गते फर्कन तयार रहेको सन्देश प्रवाह भैरहेको बेलामा माधव नेपाल समूहका प्रभावशाली नेताहरु भट्टराई र विष्ट भने अब ओली क्याम्पमा नै प्रवेश गरेको स्रोतको दाबी छ । नेता नेपालले पनि यो कुराको आज संकेत गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूलाई तेस्रो र चौथो पुस्ताको साथ रहेको भन्दै भट्टराई र विष्टहरुले ओली पक्षसँग गरेको वार्ताको कुनै अर्थ नभएको इंगित गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेपाल पक्षधर २६ जना सांसदले हस्ताक्षर गरेका थिए । तर, अदालतमा सशरिर उपस्थ्त् िहुने बेलामा २३ जना पुगेका थिए । योगेशले त सुरुमै हस्ताक्षर गरेका थिएनन् । उनले त्यतिवेला आफूले राजनीतिक जीवनमा सबैभन्दा कठिन दिनको सामना गरेको बताएका थिए । र, उनले नेता नेपालको साथ छोडेको पनि संकेत गरेका थिए ।

तर, पछिल्लो समय उनले नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको तर्फबाट जारी संयुक्त विज्ञप्तीमा भने हस्ताक्षर गरेका थिए । योसँगै धेरैले योगेश पूनः नेता नेपालको समूहमा फर्किएको समाचार लेखेका थिए । आजमात्रै उनले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । बालुवाटारसँग निरन्तर सम्पर्कमा रहेका नेताहरु भट्टराई र विष्टलाई मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बुझिएको छ ।

प्रतिनिधिसभा विघटन भएपछि माधव नेपाल ओलीसँग आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले ओलीको कदम असंवैधानिक र अराजक भन्दै कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनमा आफूलाई उभ्याएका छन् । उनी पक्षधर २३ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा संवैधानिक इजलासमा पुगेको छ । सुनुवाई सुरु भएको छ । तर, संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुमाथि प्रश्न उठेपछि जेठ २३ गतेसम्म सुनुवाई स्थगित् गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब वरिष्ठताको आधारमा इजलाश गठन गर्ने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *