ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम, राजेन्द्र महतोले पाए यो मन्त्रालयको जिम्मा आजै सपथ खाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको एमाले स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले हिजो राती जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलपछि आज जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।

यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हालेका मन्त्रालय अहिले खाली छ । उनीहरु पदमुक्त भएपछि सबै मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राखेका छन् । सोही मन्त्रालय जसपाका नेताहरुलाई जिम्मा दिएर शपथ गराउने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्ने करिब तय भएको छ ।

जसपा स्रोतका अनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा आजै सहभागी हुने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए । आफूले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *