गाउँमा फैलिँदै कोरोना, एउटै गाउँमा २५ को परीक्षण गर्दा २३ जना संक्रमित

जुम्ला- पछिल्लो समयमा जुम्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलन थालेको छ। जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परीक्षण गरेकोमा २३ जनालाई कोरोना पोजेटिभ देखिएको हो। गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो।

जनस्वास्थ्य कार्यालय जुम्ला र तातोपानी गाउँपालिकाको समन्वयमा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले जानकारी दिए।

संक्रमित पुष्टि भएका सबैजनालाई राँका गाउँकै विद्यालयमा आइसोलेसन बनाएर राख्ने तयारी गरिएको उनले बताए। गाउँमा यतिधेरै संक्रमित भेटिएपछि त्रास फैलिएको छ।

यसअघि सोही गाउँपालिका – ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो। उनीहरुलाई लाम्रा विद्यालयको आइसोलेसन र कोभिड अस्थायी अस्पतालमा राखिएको तातोापनी गाउँपालिका स्वास्थ्य संयोजक चौलागाई बताउँछन्।

उनका अनुसार २४ जना संक्रमित होमआइसोलेसनमा बसेका छन्। अहिले तातोपानी गाउँपालिकामा सक्रिय संक्रमित ७० जना छन्। गाउँमा लापरबाहीले संक्रमण बढेको हो। ग्रामीण क्षेत्रमा कोभिड संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन। घरबाहिर निस्कँदा मास्कको प्रयोग हुँदैन। घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन।

खेतिकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन। जताततै भिडभाड र लापारबाही बढिरहेको छ। गाउँमा चरम लापरबाही बढेको स्थानीय बताउँछन्।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञा बारेमा जानकारी नै’, स्थानीय सन्देश खत्रीले भने ‘गाउँगाउँमा विकासे काम भइरहेका छन्। एक गाउँदेखि अर्को गाउँमा गएर खेतिकिसानीको काम भइरहेका छन्। गाउँमा जमघट हुने, भिडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन्।’

जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर गइसकेका छन्।

‘गाउँमा रोपाइँ चलेको छ। चोपाइ भइरहेको छ। गोडमेल भइरहेको छ। सरकारी विकास भइरहेको छ। न निषेधाज्ञा पालना गरिएको छ, नत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नै,’ सन्देशले भने, ‘गाउँमा केवल लापरबाही बढिरहेको छ। लापारबाहीका कारण कोरोना फैलदोँ अवस्थामा छन्। कोरोनाको उच्च जोखिममा गाउँ नै छ।’

उनका अनुसार स्थानीयले गाउँका जनप्रतिनिधिलाई टेर्दैनन्। स्थानीय सरकारले सचेत गरेको बेला वास्ता गर्दैनन्। प्रहरी नपुग्दासम्म ग्रामीण क्षेत्रका बजार पनि खुलै हुन्छन्। प्रहरी पुगेर बन्द गर्न सिठी बजाएपछि मात्र बजार बन्द हुन्छन्। ग्रामीण बजारमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *