सरकारले ‘लुजडाउन’लगाउन तयारी गरेका बेला आज संक्रमणको नयाँ अपडेट यस्तो आइदियो

सरकारले ‘लुजडाउन’लगाउन तयारी गरेका बेला आज संक्रमणको नयाँ अपडेट यस्तो आइदियो

काठमाडौं । नेपालमा भाइरसका तीन हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ८९५ को रिपोर्ट पोजेटिभ आएको छ ।बुधबार चौबीस घण्टामा पाँच हजार ७६८ जना मुक्त भएका छन् । हालसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित मुक्त भएका छन् ।

निको हुने दर ८५.२ प्रतिशत पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

यस्तै सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परिमार्जन गरिने जानकारी दिएका छन् ।

‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् ।

गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । वर्षयाम सुरु भएपछि कृषि कार्यलाई समेत खुला गर्न सरकारले निषेधाज्ञा ‘मोडालिटी’मा परिवर्तन गर्न लागेको हो । तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् ।

यसैगरी, सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, व्रतबन्ध, सभा, गोष्ठी गर्न अझै केही समय रोक लगाइनेछ । सार्वजनिक यातायातलाई केही समय बन्द नै गर्ने सरकारको योजना छ । तर, अवस्था हेरेर निजी सवारी साधन भने केही समयपछि जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *